बिर्तामोड / प्रतिगमन विरुद्ध सङ्गठित लोकतान्त्रिक - बाम गठबन्धनका झापा क्षेत्र नं -२ प्रदेशसभा २ का उम्मेद्वार खगेन्द्र मैनालीले देश परिवर्तनका लागी युवाको आवश्यकता परेकाले आफ्नो उम्मेद्वारी दिएका छन् । उनले झापा क्षेत्र नं -२ को विकास निर्माण र जनताका समस्याबारे समाधानमा आफू हरप्रहर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । 

अर्जुनधारा नगरपालिका वडा नं-६ को आयोजनामा सम्पन्न वडा भेलालाई सम्बोधन गर्दै मैनालीले आफूलाई अग्रजहरूको आशीर्वाद र युवाहरूको साथ रहने विश्वास व्यक्त समेत गरेका छन् ।  यस्तै झापा क्षेत्र नं -२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार हरिकुमार रानाले देश र जनताको हित विपरित कहिल्यै काम नगरेको बताउँदै अब पनि जनताको शिर निहुरिने काम कहिल्यै नगर्ने प्रतिबद्धता जनाएका छन् । वडा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले आफूले एमाले त्यागेको तर अरु कुनै पार्टीमा प्रवेश नगरी साझा उम्मेदवारका रुपमा उठेको बताउँदै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

OM Sai Pathibhara Hospital

कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक सुधीरकुमार शिवाकोटीले मुलुकको आवश्यकताका आधारमा अग्रगामी शक्तिहरूबीच गठबन्धन भएको चर्चा गर्दै मुलुकवासीको हित र जनआन्दोलनको उपलब्धि रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु सबैको दायित्व भएको धारणा राखेका छन् । अर्जुनधारा नगरपालिका वडा नं-६ का सभापति नेत्र विमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचन परिचालन समिति क्षेत्र नं-२ का सचिव सि.पी कडरिया, सदस्य तीर्थ सिग्देल लगायतले बोलेका थिए ।