बिर्तामोड  / नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटीले इतिहासले नेपाली कांग्रेसको काँधमा महत्वपूर्ण जिम्मेवारी र अवसर सुम्पेको हुँदा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराएर आफ्नो जिम्मेवारी पूरा गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस झापाको बैठकलाई आज सम्बोधन गर्दै नेता शिवाकोटीले नेकपा एमालेले चलाएको भ्रम र हल्लाका पछि नलागी गठबन्धनका उम्मेदवारको पक्षमा जनलहर सिर्जना गर्न सक्रियतापूर्वक खट्न कार्यकर्तालाई आह्वान गरेका हुन् ।

बैठकमा कांग्रेस केन्द्रीय सदस्यद्वय सुशीला ढकाल र गोमा भट्टराई, उपसभापति शेरबहादुर भटराई, क्षेत्रीय सभापति इन्द्र बुढाथोकी लगायतले गठबन्धन दलबीच मतको आदानप्रदान हुनेहुँदा गठबन्धनलाई चुनाव अवधिभर एकै पार्टी सरह ठानी भावनात्मक एकताका साथ चुनावमा होमिन आग्रह गरे । कार्यवाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न बैठकको सञ्चालन कृष्ण हुमागाईँले गरेका थिए ।