झापा / मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सहभागी भएका नेपाली कांग्रेसका मन्त्रीहरूलाई पदबाट हटाउने भएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालबाट केन्द्र सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका थिए । त्यसपछि असन्तुष्ट बनेका मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीहरूलाई पदबाट हटाउन लागेका हुन् ।

OM Sai Pathibhara Hospital

नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागि भएका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहलाई मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट हटाउन लागेका छन् ।

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार छ । मधेस सरकारमा कांग्रेसका तीन, माओवादीका २ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट गठबन्धनका मन्त्रीहरुलाई हटाउने छलफल थालिसकेको जसपाका एक नेताले बताए ।  केन्द्रबाट जसपाका मन्त्री हटाएसके पछि कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाई छ ।

केन्द्र सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार  बर्खास्त गरेका थिए ।