झापा / सामाजिक सञ्जालको प्रयोग गरेर आसन्न निर्वाचनका कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षण गर्न निर्वाचन आयोगले प्रतिबन्ध लगाएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आचारसंहिता लागू भइसकेका कारण आयोगले मत सर्वेक्षण र परिणाम घोषणा गर्न वा प्रकाशन गर्न प्रतिबन्ध लगाएको हो । 

OM Sai Pathibhara Hospital

निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी उपरोक्त व्यवस्था विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने बताएका छन् । 

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त)  मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने उल्लेख गरिएको छ । 

साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।