बिर्तामोड / आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिएका २०७ जनामध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका १०१ जनामध्ये ७ र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका १०६ मध्ये  ८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।  

OM Sai Pathibhara Hospital

मनोनयन दर्ता गराएकाहरुलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता गर्ने समय तोकिएको थियो। उक्त समयभित्र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका चार जना र स्वतन्त्र ११ जनाले उम्मेदवारी फिर्ता लिएका जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए।

नेकपा (एमाले)लाई समर्थन गर्ने जनाउँदै एमालेले उम्मेदवारी दिएको झापाका सबै क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएको राप्रपा नेपालका जिल्ला अध्यक्ष कमलप्रसाद खरेलको भनाइ छ । एमाले उम्मेदवार नभएका क्षेत्रहरूमा राप्रपा नेपालको उम्मेदवार कायम रहेको उनले बताए । 

राप्रपा नेपालको तर्फबाट झापा १ बाट उम्मेदवार बनेका सन्तराज कार्की, २ का कमल प्रसाद खरेल, ४ का विजय प्रसाद राजवंशी र झापा ५ को (ख) बाट उम्मेदवार बनेका बासुदेव भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन् । 

त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका अर्पण बस्नेत, झापा ४ मा खेम नेपाल, झापा ५ मा विष्णुप्रसाद सिग्देल, सुलोचन राजवंशीले उम्मेदवारी फिर्ता लिएका छन्। 

राजवंशीले माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदमा पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई समर्थन गर्ने जनाएका छन् । 

त्यसैगरी स्वतन्त्रतर्फ झापा १ को (ख) बाट गीताप्रसाद अधिकारी, राजन चिमरिया, झापा ४ को (ख) बाट भरतकुमार श्रेष्ठ, झापा ५ को (क) बाट इन्द्रबहादुर न्यौपाने र झापा ५ को (ख) बाट दीपेन्द्र तिवारी, वेदनिधि गौतम र राजन चापागाईँले उम्मेदवारी फिर्ता लिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए।