झापा / निर्वाचन आयोगले आज (मंगलवार) उम्मेदवारहरूको नामावली प्रकाशन गर्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका अनुसार आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।

हिजो (सोमबार) परेका उजुरी र मनोनयन पत्र जाँचबुझ गरी आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। 

OM Sai Pathibhara Hospital

आयोगले यसअघि आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता गरेको थियो । यस्तै सोमवार उम्मेदवारविरुद्ध परेका उजुरी लिएको थियो । आयोगले उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने जिम्मा भने सम्बन्धित निर्वाचन अधिकृतलाई नै दिएको छ ।

उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने जनाएको छ। कार्यतालिका अनुसार कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। 

बुधवार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।

यसैबीच, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीबारे आजै प्रस्टीकरण दिनुपर्ने भएको छ।  नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको भन्दै हिजो देउवाको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरी परेको छ। 

देउवाका चुनावी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले उजुरी दिएका हुन् । देउवाको उम्मेदवारी खारेज हुनुपर्ने मल्लको माग छ। देउवालाई उजुरीबारे प्रस्ट पार्न आज दिउँसो २ बजेसम्मको समय दिइएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए।