झापा / डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ । देउवाविरुद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो । उनीविरूद्ध गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

‘नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको, शेरबहादुर देउवा उम्मेदवार हुन अयोग्य भएकोले निजको मनोनयन खारेज गरी पाउन यो उजुरी दिएको छु,’ उजुरीमा उल्लेख छ । डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले उजुरीमाथि आवश्यक छानबिन तथा आगामी प्रक्रिया थालिने बताए ।