झापा / मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले आइतबार मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमा देशभरबाट दुई हजार ४ सय ५२ जनाले उम्मेदवारी दिएका छन् ।
दर्ता भएका उम्मेद्वारहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ । जसमा महिला उम्मेदवारको संख्या २ सय २९ मात्रै छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटमा तीन हजार ३ सय २६ जनाको उम्मेदवारी परेकामा महिला २ सय ८६ जना मात्रै छन् ।
कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनबाट र एमाले नेतृत्वको गठबन्धनबाट प्रतिनिधिसभामा २५ जना महिलाले मात्र प्रत्यक्षतर्फ चुनाव लड्ने मौका पाएका छन् ।
एमालेले ११, माओवादी केन्द्रले ७, कांग्रेसले ५, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक जना महिलालाई उम्मेदवार बनाएका छन् । दलहरूले एउटै निर्वाचन क्षेत्रमा महिला–महिलाबीच प्रतिस्पर्धा हुने गरी उम्मेदवारी दिएका छैनन् ।
प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने आवाज उठ्दै आएपनि राजनीतिक दलहरूले भने महिलालाई टिकट दिन कन्जुस्याईँ गरेका छन् ।






































