झापा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ११ जना महिलालाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा ५ जना मात्रै महिलालाई टिकट दिएको एमालेले यस पटक ११ जनालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो ।
एमालेले कमलरीदेखि संसद्सम्मको संघर्ष गरेकी शान्ता चौधरीलाई दाङ –१ मा प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।
त्यस्तै ०७४ मा झिनो मतान्तरले पराजित भएकी भगवती चौधरीले यस पटक पनि सुनसरी –३ मै उम्मेदवारी दिएकी छन् । यस क्षेत्रमा उनले कांग्रेसका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गर्नेछिन् ।
यता पद्माकुमारी अर्यालले स्याङ्जा –२ र विद्या भट्टराईले कास्की –२ मै उम्मेदवारी दिएका छन् । अर्यालसँग कांग्रेस उपसभापति धनराज गुरुङ चुनाव लड्दै छन् भने कास्की –२ मा एकीकृत समाजवादीका श्रीनाथ बरालले प्रतिस्पर्धा गर्दैछन् ।
त्यस्तै एमालेबाट कोमल वलीले दाङ –३, निरूदेवी पालले कञ्चनपुर –३, मञ्जु शर्मा चालिसेले बागलुङ –२, जुलीकुमारी महतोले धनुषा –३, ज्वालाकुमारी साहले बारा –३ र गौरी वलीले डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ती सबै क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट मुख्य प्रतिस्पर्धी पुरुष नै छन् ।
०७४ मा कांग्रेस नेता एवम् परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजित भएकी मञ्जुकुमारी चौधरीले एमालेबाट उदयपुर –१ मै उम्मेदवारी दिएकी छन् । यहाँ कांग्रेसबाट परराष्ट्रमन्त्री खड्का नै पुनः उम्मेदवार छन् ।






































