झापा / पाँच दलीय सत्ता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ आठ जना महिलालाई उम्मेदवार बनाएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४८ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा आठ जना महिलालाई समेटेको हो ।
तर, प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशमा भने माओवादीबाट महिलाहरूको उम्मेदवारी शून्य छ । बागमती प्रदेशमा माओवादीले पाँच जनालाई उम्मेदवार बनाएको छ । सबैभन्दा धेरै काठमाडौँबाट चार जना र ललितपुरबाट एक जना महिलाले माओवादीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादी नेतृ ओनसरी घर्तीले गठबन्धनको साझा उम्मेदवारका रूपमा काठमाडौँ –२ बाट उम्मेदवारी दर्ता गराएकी छन् भने मानुषी यमी काठमाडौँ –७ बाट उम्मेदवार बनेकी छन् ।
माओवादी पोलिटब्युरो सदस्य कल्पना धमला काठमाडौँ –९ बाट, अञ्जना विशंखे काठमाडौँ १० र पम्फा भुसाल ललितपुर –३ बाट उम्मेदवार बनेकी छन् ।
त्यस्तै पोलिटब्युरो सदस्य रेखा शर्मा लुम्बिनी प्रदेशमा दाङ २ बाट माओवादीकी एक्ली उम्मेदवार बनेकी छनभने सुदूरपश्चिम प्रदेशबाट पनि माओवादीले एकल महिला उम्मेदवार उठाएको छ ।
जसमा कञ्चनपुर १ बाट बिना मगरले उम्मेदवारी दर्ता गराएकी छन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी पनि हुन् । प्रतिनिधि सभा तर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा माओवादीले केन्द्रीय सदस्य गोमा गौतमलाई उम्मेदवार बनाएको छ ।






































