बिर्तामोड / मङ्सिर ४ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवारी दर्ता गराएका छन्।

लिङ्देनले नेकपा एमालेको समर्थनमा आइतबार चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । 

OM Sai Pathibhara Hospital

लिङ्देनको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा नेकपा एमालेका नेता लक्ष्मण पाठक रहेका छन्।  

झापाको क्षेत्र नम्बर ३ र ५ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको छ । झापा ३ मा एमालेले लिङदेनलाई सघाउने छ भने झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपाले सघाउने छ।

त्यस्तै झापा क्षेत्र नम्बर –३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पनि उम्मेदवारी दर्ता गराएका छन् । सिटौलाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

सिटौलाको प्रस्तावकमा मोहन महर्जन, समर्थक गणेश पोखरेल बसेका छन्। सिटौला काठमाडौंमा छन् । अघिल्लो निर्वाचनमा सिटौला लिङ्देनसँग पराजित भएका थिए । 

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ। निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।