बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकाका पूर्व मेयर तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य हरिकुमार रानाले पार्टी परित्याग गरेका छन् । प्रदेश सांसदको दाबेदार रहेका रानाले टिकट नपाउने भएपछि पार्टी परित्याग गरेका हुन् । 

OM Sai Pathibhara Hospital

रानालाई माओवादी केन्द्रले झापा निर्वाचन क्षेत्र नम्बर –२ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेको बताइएको छ । आइतबार पाँच दलीय गठबन्धनको तर्फबाट माओवादीको चुनाव चिन्ह हँसिया हतौडा लिएर रानाले मनोनयन दर्ता गर्ने भएका छन्।

यसअघि क्षेत्र नम्बर –२ मा गठबन्धनले माओवादी केन्द्रकी नेतृ धर्मशीला चापागाइँलाई उम्मेदवारी बनाउने निर्णय गरेको थियो । चापागाईँले उक्त क्षेत्रबाट टिकट छोडेपछि रानालाई संसद् भवन पुग्न बाटो खुल्ला भएको हाे । 

उक्त क्षेत्रमा एमालेका तर्फबाट सङ्घमा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेलाई टिकट दिएको छ भने प्रदेशसभा (१) मा एकराज कार्की र प्रदेशसभा (२) मा चिन्तन पाठकलाई उम्मेदवार बनाएको छ ।