झापा / आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि ७५ हजार सेना परिचालन हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनको सुरक्षामा ७५ हजार सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् । 

राष्ट्रिय सुरक्षा परिषद्को गत भदौ १७ मा भएको बैठकले निर्वाचनमा १० वटा कार्यादेश दिएर सेना खटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । त्यसकै आधारमा मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रधानमन्त्री शेरबहादुर देउवाले सेना परिचालन गर्न भदौ २७ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । 

OM Sai Pathibhara Hospital

आइतबार राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गरेसँगै जंगी अड्डालाई केन्द्रीय सुरक्षा समिति बैठकबाट स्वीकृत ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०७९’ बमोजिम सेना परिचालन गर्न बाटो खुलेको हो । 

संविधानको धारा २६७ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सेना परिचालन गर्ने संवैधानिक व्यवस्था छ । विपद् व्यवस्थापन तथा नियन्त्रण, विकास निर्माण कार्यमा बाहेक अरू प्रयोजनका लागि सेना परिचालन गर्नुपरे मन्त्रिपरिषद्ले राष्ट्रपतिबाट स्वीकृति लिनुपर्छ । 

गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत सुरक्षा कार्ययोजनामा सेनालाई मतदान स्थलको ‘बाहिरी क्षेत्र’ निगरानी तथा सुरक्षा, हवाई गस्ती, मतपत्र छपाइ, ढुवानी, मतपेटिका ओसारपसार, निर्वाचनका अन्य सामग्री ढुवानी, कारागार, विमानस्थल, जलविद्युत् तथा अन्य महत्त्वपूर्ण भौतिक संरचनाको सुरक्षार्थ खटाउने उल्लेख छ । 

निर्वाचनमा नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९३ प्रहरी र १ लाख १५ हजार म्यादी प्रहरी खटिनेछन् भने सशस्त्रबाट ३२ हजार र अनुसन्धान विभागबाट १ हजार ५ सयभन्दा बढी जनशक्ति तैनाथ हुँदै छन् । 

निर्वाचन आयोगका अनुसार निर्वाचनमा १० हजार ८ सय ९१ मतदान स्थल र २२ हजार २ सय २६ मतदान केन्द्र (मतपेटिका) हुनेछन् ।