काठमाडौँ / नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समुहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

सोमबार ठमेलस्थित होटल यात्रीमा बसेको शेखर पक्षको बैठकले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन यही बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा धर्ना दिने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनदेखि सभापति देउवाप्रति रुष्ट बनेको कोइराला समुह मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनको विषयमा पनि असन्तुष्ट बनेको छ ।

वर्तमान प्रधानमन्त्री समेत रहेका देउवाले आफूहरूलाई सँधै पेलेरै पार्टीमा हरेक निर्णय  गर्ने गरेको उक्त पक्षको जनाएको छ ।  त्यसकारण समान अवसर र न्यायका लागि एक घण्टे धर्ना कार्यक्रम तय गरिएको शेखर पक्षको दावी छ । 

डा. कोइराला समुहले एकल बहुमत ल्याउने गरी भागबन्डा गर्न सभापति देउवालाई निरन्तर दबाब दिँदै आएको छ । उक्त पक्षले कम्तीमा पनि कांग्रेसलाई १०० सिट राखेर बाँकी रहेका सिट अन्य दलहरूलाई भागबन्डा गर्नुपर्ने प्रस्ताव सभापति देउवा समक्ष राख्दै आएको हो ।

थोरै सिट लिएर निर्वाचनमा जाँदा कार्यकर्ता रुष्ट हुने उक्त पक्षको ठहर छ । भागबन्डा गर्दा कांग्रेसले बहुमत सिट नपाउने हो भने एक्लै निर्वाचनमा जानुपर्ने संस्थापन इतर समुहको दरो मत छ ।

तर, देउवा भने नेपाली कांग्रेसलाई ८० सिट दिए मन्जुर हुने देखिएका छन् । यता डा. कोइरालाले यदि देउवाले आफ्नो कुरा नसुने पार्टीभित्र विद्रोह गर्ने समेत चेतावनी दिएका छन् ।