झापा / प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । 

प्रदेशसभामा सिट बाँडफाँडको जिम्मा प्रदेश कमिटीलाई नदिएपछि मन्त्री यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका हुन् । 

OM Sai Pathibhara Hospital

गठबन्धनमा आबद्ध दलहरूले प्रदेशसभाको सिट बाँडफाँड छलफल थालेपछि असन्तुष्ट हुँदै जसपाका नेता समेत रहेका मन्त्री यादवले आफ्नो कार्यकक्ष बाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो हटाएर प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्र राईको मात्रै फोटो कार्यकक्षमा राखेका छन् ।

यसअघि उनको कार्यकक्षमा चार जनाकै फोटो थियो । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रपति र मुख्यमन्त्री फोटो हटाएको जनाएका छन् । 

उनले लेखेका छन्, – ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल (जिन्दाबाद )। राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर माननीय प्रदेश प्रमुख परशुराम खापुङ ज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्युको तस्वीर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो । पहिचान सहितको (संघीय अभिवादन)  । ’