धनकुटा / नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारी ‘सुदर्शन’ले पदबाट राजिनामा दिएर धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले टिकट नदिने भएपछि पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिन लागेको भण्डारीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

भण्डारीको उम्मेदवारीलाई जिल्लाका सबै नेताहरूले समर्थन गरेको जिल्ला समन्वय समितिका संयोजक डिल्लीराम राई ‘कमल’ले जानकारी दिए । भण्डारीको अभियानलाई साथ दिने निर्णय गरेका माओवादी केन्द्रका सबै पदाधिकारी तथा सदस्यहरूले पनि पदीय जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेका छन् । 

पत्रकार सम्मेलनमा राईले भने, ‘आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्नसक्ने आधारसहित प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारको रुपमा धनकुटेली जनतामा जाने हेमराज भण्डारीको प्रस्तावलाई पूर्ण समर्थन गर्दै उहाँको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेका छौँ ।’

गठबन्धन दलबीच सिट बाँडफाँटको अन्तिम टुंगो लागिसकेको छैन । यद्यपि, एउटैमात्र निर्वाचन क्षेत्र रहेको धनकुटा नेपाली कांग्रेसको भागमा पर्ने मोटामोटी सहमति भएको बताइन्छ । 

धनकुटामा कांग्रेसको तर्फबाट राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनिल थापा उम्मेदवार बन्ने लगभग निश्चित छ । राप्रपाबाटै राजनीति थालेका सुनिलले २ वर्षअघि कांग्रेस प्रवेश गरेका थिए । 

भण्डारी २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा धनकुटाबाट निर्वाचित भएका थिए । सुनिल २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा भने नेकपा एमालेका राजेन्द्र राई निर्वाचित भएका थिए ।

धनकुटामा भण्डारीले उम्मेदवारी घोषणा गरेसँगै मुख्यत तीन जनाबीच प्रतिष्पर्धा हुने आकलन गरिएको छ । गठबन्धनबाट कांग्रेसका सुनिल थापा, एमालेबाट पुनः राजेन्द्र र स्वतन्त्र उम्मेदवार भण्डारीबीच मुख्य रूपमा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।