काठमाडौं / नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वआइजिपी खनालले औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन् । नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूले स्वागत गरे ।

पारिवारिक रूपमा खनाल नेपाली कांग्रेसनिकट परिवारका मानिन्छन् । उनका दाजु सुवीर खनाल गृहमन्त्रालयको सहसचिवबाट राजीनामा दिएर कांग्रेसको राजनीतिमा लागेका थिए । उनी गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सचिवालयमा काम गरेका थिए । खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरीलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन् ।