काठमाडौं / नेकपा एमालेले डेंगी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको बताएको छ ।  एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेंगी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन् ।

एमालेले डेंगीबाट २१ जनाको मृत्यु भएको र ७५ जिल्लामा यसका लक्षण  देखा परेका बिरामी फेला परेको उल्लेख गरेको छ । ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ । आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

OM Sai Pathibhara Hospital

डेंगीको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गरिएको उनले बताएका छन् । ‘स्वास्थ्य संस्थामा बिरामीका लागि बेड छैन । हजारौँको सङ्ख्यामा बिरामीहरू स्वास्थ्य परीक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरू समेत संक्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ ।’