झापा / पछिल्लो केही महिनादेखि देशभर कोरोना सङ्क्रमणका साथै डेँगुका बिरामी बढ्दै गएका छन् । डेँगुले महामारीको रूप लिन थालेपछि आम मानिसमा यसको त्रास बढ्दै गएको छ । प्रदेश नम्बर १ मा पनि डेंगु सङ्क्रमितहरू बढ्दो छ । 

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार हाल प्रदेश १ मा ३२० जनालाई डेंगु संक्रमण पोजेटिभ देखिएको छ ।

OM Sai Pathibhara Hospital

हालसम्म प्रदेश १ का पहाडी जिल्लामा यसको प्रभाव बढी देखिएको स्वास्थ्य निर्देशक बस्नेतले जानकारी दिए ।  स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सबैभन्दा बढी तेह्रथुममा डेँगुका संक्रमित फेला परेका छन् । 

तेह्रथुममा मात्र ११० जनामा डेंगु संक्रमण भएको छ । त्यस्तै सङ्खुवासभामा ६६ जनामा, झापा र भोजपुरमा २४–२४ जना, मोरङमा १९, ताप्लेजुङमा १६, धनकुटामा १८, पाँचथर र सोलुखुम्बुमा ३–३, उदयपुरमा ९ जना र सुनसरीमा २८ जनामा डेंगु पोजेटिभ देखिएको छ । 

डेँगुको संक्रमण तराईमा भन्दा पहाडमा धेरै फैलिएका कारण त्यसको नियन्त्रणका उपाय बारे छलफल भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक बस्नेतले जानकारी दिए ।  

त्यस्तै देशभरका ७७ जिल्ला मध्ये हुम्ला र मुस्ताङ बाहेकका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाको आइतबारसम्मको तथ्याङ्कअनुसार देशभर साउनदेखि हालसम्म ९ हजार ८३५ जनामा डेंगु संक्रमण भएको छ ।

७५ जिल्लामध्ये १० वटा जिल्ला डेँगुको उच्च जोखिममा छन् । उच्च जोखिममा रहने जिल्लामा तेह्रथुमसहित, ललितपुर, काठमाडौं, मकवानपुर, रूपन्देही, दाङ, भक्तपुर, धादिङ, काभ्रे, र चितवन रहेका छन् ।

ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रूपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, काभ्रेपलाञ्चोकमा १ सय ५ र चितवनमा ९० केस पुष्टि भएका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। गोकर्ण दाहालले हालसम्म देशभर डेँगुबाट ७ जनाको मृत्यु भएको बताएका छन् । 

यस्तै अस्पतालमा पनि बिरामीको चाप बढेको स्वास्थ्यकर्मी बताउँछन्। कोरोना भाइरस संक्रमण दर वृद्धिसँगै डेंगु पनि देखिएकाले केही अस्पतालहरूमा थप स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।

नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेला परेको थियो । यसपछि बर्सेनी डेँगुका बिरामीहरू बढ्दै गएका छन् ।  यसपछि सन् २००६ मा ३२ जनामा डेँगु भएको थियो भने २००७ मा २७, २००८ मा १० जनामा संक्रमण देखियो ।

सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो । त्यस्तै २०२० मा ५ सय ३०, २१ मा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । डेँगु जुलाईदेखि नेपालमा धेरै देखिन थालेको हो ।

सूर्यास्त अघि र पछिको तीन घण्टामा डेंगु फैलाउने लामखुट्टे सक्रिय हुने भएकाले त्यस समय सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।