काठमाडौँ  / पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसद्बाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन् । पूर्वराष्ट्रपति डा. यादवले संचारकर्मीसँगेको कुराकानीमा यस्तो बताएका हुन् । 

नागरिकता विधेयकका सम्बन्धमा राखेको जिज्ञासामा पूर्वराष्ट्रपति डा यादवले भने, “संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ । यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु ।” 

OM Sai Pathibhara Hospital

नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भइ प्रमाणीकरणका लागि अहिले राष्ट्रपति समक्ष पुगेको छ ।

प्रतिनिधि सभाको गत साउन ६ गतेको बैठकबाट पारित गरी सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकतासम्बन्धी विधेयक गत साउन २९ गते आठ बुँदे सन्देशसहित राष्ट्रपति कार्यालयबाट अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनः विचार गरियोस् भनी सदनमा फिर्ता पठाइएको थियो ।

सन्देशमा ‘संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता गरिएको हुनाले कानूनको तत्काल आवश्यक रहेको बारेमा कुनै प्रकारको सन्देह वा द्विविधा रहेको छैन’ भन्ने लगायतका  विषयवस्तु उल्लेख छ ।

सन्देशसहित फिर्ता आएको विधेयकलाई सरकार र सदनले स्वाभाविकरूपमा लिई प्रतिनिधि सभा, राष्ट्रिय सभा र विधायन समितिमा आवश्यक छलफलपछि पुनः पारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइएको हो । 

संविधान संरक्षकका हैसियतले राष्ट्रपतिले विधेयकका सम्बन्धमा उठेका विभिन्न प्रश्नका बारेमा समाजका विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग राय परामर्श लिएकी थिइन् ।     

संविधान प्रारम्भ हुनुअघि जन्मेको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबुआमा दुवै नेपाली नागरिक भएको अवस्थामा वंशजका आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था कार्यान्वयनका लागि उक्त कानून ल्याउन परेको सरकारको स्पष्टोक्ति छ । 

नागरिकता प्राप्त गर्नबाट वञ्चित ठूलो सङ्ख्यामा रहेका युवायुवतीले पठनपाठन, विदेश यात्रा, बैंकिङ कारोबार तथा चलअचल सम्पत्ति खरिद बिक्रीसमेत गर्न नपाएर अनागरिक बन्न बाध्य भइसकेको गुनासो गर्दै आएका छन् ।