झापा / प्रदेश १ का पहाडी जिल्लाका अस्पतालहरूमा काम गर्ने चिकित्सकलाई प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएको छ ।

पहाडी जिल्लका अस्पतालहरूमा चिकित्सक जना नमानेपछि स्वास्थ्य सेवालाई चुस्त बनाउन चिकित्सक प्रदेश १ सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रदेश सरकारले  ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएर प्रदेशका दुर्गम र पहाडी जिल्लाका अस्पतालहरूमा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ता चालु आर्थिक वर्षको भदौबाट दिने तयारी गरेको छ ।

प्रदेशका १ पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकहरूको चरम अभाव छ । चिकित्सकहरू सहर केन्द्रित हुँदा दुर्गमका अस्पताल भने विशेषज्ञ डाक्टरको अभावबाट गुज्रिरहेका छन् । 

दुर्गम पहाडी जिल्लामा विशेषज्ञ चिकित्सकहरू जान नखोज्ने अवस्था अन्त्य गर्न भन्दै प्रदेश सरकारले दुई वटा आर्थिक वर्षको बजेटमा चिकित्सकलाई प्रोत्साहन भत्ताको प्रबन्ध गर्ने भनेको थियो। तर, निजामती कर्मचारीहरूको असहयोगको कारण देखाएर दुई वर्षदेखि कार्यविधि बनेको थिएन। 

पहाडी जिल्लाका अस्पतालमा खटिने चिकित्सकलाई मासिक ६० हजारदेखि एक लाख ५० हजार रुपिँयासम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । 

कार्यविधि अनुसार प्रदेश १ का ११ जिल्लाका जिल्ला अस्पतालमा काम गर्ने चिकित्सकलाई चालु आर्थिक वर्षबाटै प्रोत्साहन भत्ता उपलब्ध गराईने स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिए । 

सङ्खुवासभा, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालमा काय गर्ने चिकित्सकलाई समान प्रोत्साहन भत्ता दिईने छ । यी जिल्लाका अस्पतालमा काम गर्दे ११ औं तहका चिकित्सकले एक लाख ५० हजार, नवौँदहौं तहका चिकित्सकलाई १ लाख ३५ हजार, आठौंलाई १ लाख २० हजार प्रोत्साहन भत्ता दिइने छ ।

यसैगरी धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने चिकित्सकमध्ये ११ औं तहलाई ७५ हजार, ९ र १० औं तहलाई ६८ हजार र ८ औं तहलाई ६० हजार रुपैयाँ उपलब्ध गराइनेछ । 

स्थायी चिकित्सकलाई ६० हजारदेखि एक लाख ५० हजारसम्म भत्ता दिइने छ । यसैगरी छात्रवृत्ति करारमा सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम जिल्ला अस्पतालमा खटिएका चिकित्सकमध्ये ११ औं तहलाई ७५ हजार, ९ र १० औं तहलाई ६८ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । 

धनकुटा, उदयपुर र इलाममा खटिने छात्रवृत्ति चिकित्सकमध्ये ११ औं तहलाई ३८ हजार, ९ र १० औं तहलाई ३४ हजार रुपैयाँ मात्रै उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । 

यसरी उपलब्ध गराउने प्रोत्साहन भत्ताका लागि ३० दिन काम गरेको हुनुपर्नेछ । तराईको सुनसरी, मोरङ र झापा जिल्लामा चिकित्सकलाई प्रोत्साहन भत्ता छैन । प्रदेश १ सरकारको कोसी कोभिडसहित १५ अस्पताल रहेका छन् ।