बिर्तामोड / झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेद्वारको मुख नहेरी रुख चिन्ह हेरेर मत दिन आम जनतालाई आह्वान गरेका छन् ।
नेपाली कांग्रेस बिर्तामोड नगर समितिले आयोजना गरेको १०९ औं वी.पी. जयन्ती एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले आसन्न निर्वाचनमा मुख होइन, रूख हेर्नुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रीय सदस्य सरिता प्रसाईँले यसअघिको निर्वाचनमा दुईतिहाइ प्राप्त गरेको एमालेले मुलुकको नेतृत्व गर्न नसकेकै कारण कांग्रेस नेतृत्वमा सरकार बनेको बताउँदै ‘संसद भंग गर्ने अधिकार कसले दियो ?’ भनेर एमालेलाई प्रश्न गर्न आम जनतालाई आग्रह गरिन् ।
मुलुकको परिवर्तनका लागि भएका आन्दोलन एवं ब्यवस्था परिवर्तनको नेतृत्व कांग्रेसले गरिरहेको इतिहास बताउँदै नेता प्रसाईँले दशौथरी विचार बोकेकाहरुलाई एकै ठाउँमा राखेर संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेस नेतृत्वमै भएको बताइन् ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँ, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरू जलकुमार गुरुङ, छत्र गिरी, दुर्योधन गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका अधिकांश वक्ताहरूले काङ्ग्रेसभित्रको अन्तरविरोध र अन्तरद्वन्द्वलाई आन्तरिक छलफलबाट टुङ्ग्याएर आगामी निर्वाचनमा कांग्रेसको पक्षमा मतपरिणाम प्राप्त हुनेगरि एकजुट भएर चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
नेपाली परिवेशलाई हेरेर समाजवादी दर्शन प्रतिपादन गरेका वी.पी.को सोच, सिद्धान्त पूरा गर्न उनको दर्शन र निष्ठालाई प्रत्येक कांग्रेस कार्यकर्ताले आफ्नो जीवनशैली बनाउनुपर्नेमा बक्ताहरुको जोड थियो ।
कार्यक्रममा स्थानीय तह निर्वाचनमा नगरभित्र जित हासिल गरेका जनप्रतिनिधिहरू विर्तामोड –१० का वडाध्यक्ष दुर्योधन गुरुङ, ६ का वडाध्यक्ष सूर्य कन्दङवा, ५ का वडाध्यक्ष रोहित प्रसाईसहित वडा सदस्यहरूलाई सम्मान गरिएको थियो ।






































