काठमाडौँ / नेकपा एमाले लोकतान्त्रिक समाजवादी दललाई प्रतिनिधिसभामा १८ सिट छाड्ने प्रस्ताव गरेको छ। तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग चुनावी गठबन्धनका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो प्रस्ताव गरेका हुन्।

‘चुनावमा तालमेल गरेर गएमा तराईमधेशका जिल्लामा १८ सिट लोसपालाई छाड्ने प्रस्तावमाथि छलफल भइरहेको छ। तर यसबारे निर्णय भने भएको छैन’, एमालेका एक नेताले भने। 

आसन्न निर्वाचनलाई लिएर नेकपा एमाले र लोकतान्त्रिक समाजवादी दल (लोसपा) का नेताबीच भेटघाट तीव्र बनेको छ। गठबन्धनबाहिर रहेका दुवै दलबीच चुनावमा तालमेल गरेर जाने गरी छलफल भइरहेको एमालेका एक नेताले जानकारी दिए।

यस विषयमा एमाले अध्यक्ष ओली र लोसपा अध्यक्ष ठाकुरबीच पटकपटक छलफल भएको छ। तालमेलका लागि ठाकुरलाई ओलीले नै प्रस्ताव गरेका हुन्।

लोसपाले सरकारमा जानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरिरहेको छ। तर गठबन्धनबीच नै सिट बाँडफाँटमा समस्या देखिए पछि लोसपा एमालेसँग नजिकिएको हो। 

नागरिकता विधेयकको विषयलाई लिएर लोसपा एमालेसँग रुष्ट बनेको थियो। विधेयक पारित गर्ने पक्षमा लोसपा उभिए पनि एमालेले विरोध गरेको थियो।