झापा  / नेकपा माओवादी केन्द्र भोजपुरले आसन्न प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

माओवादीका जिल्ला संयोजक नगेन्द्र भुजेल ‘शैलेन्द्र’ का अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चार जना र समानुपातिक तर्फ दुई जनाको नाम सिफारिस गरिइएको छ । 

OM Sai Pathibhara Hospital

एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रतिनिधिसभको प्रत्यक्षतर्फ सुदन किराती, अजम्बर काङमाङ राई, विमल खड्का र शरणकुमार तामाङको नाम सिफारिस भएको छ । 

सिफारिस भएकाहरु मध्ये किराती माओवादीका बलियो दाबेदार हुन् । उनी हाल प्रतिनिधिसभा सदस्य छन् । ७४ को चुनावमा वाम गठबन्धनबाट उठेका उनी १२ हजार ६९८ मतान्तरले विजयी भएका थिए । 

किरातीले ३४ हजार ३९४ मत ल्याउँदा निकटम् प्रतिद्वन्द्वी उमेशजंग रायमाझीले २१ हजार ६९६ मत पाएका थिए । २०६४ को पहिलो संविधानसभा चुनावमा एमालेका शेरधन राईलाई हराएका किराती दोस्रो संविधानसभा चुनावमा भने उनैसँग पराजित भए ।

सत्ता गठबन्धनमा भागबण्डा टुंगिननसकेपनि पहिले जितेकै आधारमा यहाँ माओवादीले पाउने निश्चित छ । गठबन्धनकै अर्को घटक नेकपा एसले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई प्रदेश ‘क’ मा उठाउने तयारी गरेको छ ।

समानुपातिकतर्फ एकबहादुर राई र दुर्गा राईको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर (क) बाट प्रत्यक्षतर्फ दिलकुमार राई, राजेश खतिवडा र हर्कराज राईको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ बबिन्द्र रसाइलीको नाम सिफारिस भएको छ । 

क्षेत्र नम्बर  ‘ख’ मा भने प्रत्यक्षतर्फ सन्दीप राईको नाम सर्वसम्मत सिफारिस भएको छ भने समानुपातिकतर्फ मनिका राई र सम्झना राई (सन्ध्या) को नाम सिफारिस गरिएको संयोजक भुजेलले जानकारी दिए ।