धनकुटा / पहिलो पाँच बर्षे कार्यकालमा संघीयता बलियो बनाउन शसक्त भूमिका खेल्न सफल भएको भन्दै सातवटै प्रदेशका सभामुखहरुको भेलाले सोह्र बुँदे घोषणा पत्र जारी गरेको छ । 

२१ र २२ भदौमा धनकुटाको हिलेमा आयोजना भएको सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख र सचिवहरूको भेलाले अन्तिम तथा पाँच वर्षे कार्यकालको समीक्षा गर्दै संघीयता बलियो बनाउन १६ बुँदे घोषणा पत्र जारी गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रदेश नं १ प्रदेश सभाले संघीयता प्रर्वद्धनमा प्रदेश सभाहरुको भूमिकाबारे समीक्षा गर्न सातवटै प्रदेश सभाका सभामुखहरुलाई सहभागी गराएर धनकुटाको हिलेमा दुई दिन  पाँचौ तथा अन्तिम भेला आयोजना गरेको थियो । 

उक्त संयुक्त भेलाले जारी गरेको घोषणा पत्रमा  प्रदेश सरकारको आयस्रोत बढाउनुपर्ने, तुरुन्तै प्रदेश निजामती ऐन र प्रदेश प्रहरी ऐन कार्यान्वयनमा ल्याउँनुपर्नेमा विशेष जोड दिएको छ । 

यसैगरी जग्गा प्राप्ति र प्रदेश सभा भवन र राजधानीको संरचना निर्माण गर्न प्राथमिकता दिनुपर्ने, प्रदेश सभालाई कसैको अधीनमा राख्न नहुने र संविधान अनुसार प्रशासनिक अधिकारको बाँडफाँड चाँडै सुनिश्चित गर्नुपर्नेमा जोड माग गरेको छ  ।

घोषणा पत्रमा उल्लेख भएअनुसार प्रदेश सभाको विषयगत समितिहरूको सुझाव र निर्देशन पालना गर्ने संस्कृतिको विकास गर्नुपर्ने, निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउनुपर्ने, प्रदेशमा बढ्दो प्रशासनिक खर्च र अनावश्यक संरचना निर्माणमा रोक लगाउनुपर्ने, स्थानीय तह र प्रदेशको विवाद प्रदेश सभाबाट समाधान गर्ने कानुन निर्माण गरिनुपर्नेमा पनि भेलाले जोड दिएको छ ।

संघीयता बलियो बनाउन तीनै तह सरकारको समन्वय समिति हुनुपर्ने, संघीय संसद्मा सबै प्रदेश सभाका सभामुख उपसभामुखहरुको सम्पर्क कार्यालय हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारी बिच नियमित अन्तरक्रिया हुनुपर्ने र संघीयताको विकल्प नभएकोले नकारात्मक बहसलाई निरुत्साहित गर्न सबै लागिपर्नुपर्नेमा पनि जारी घोषणा पत्रमा उल्लेख छ ।

साथै पहिलो पाँच वर्षे कार्यकालमा संघीयता प्रर्वद्धनमा प्रदेश सभाले खेलेको भूमिकाबारे कार्यदल मार्फत अध्ययन अनुसन्धान गरेर प्रतिवेदन तयार गर्न पनि घोषणा पत्रमा माग गरिएको छ ।  
 
प्रदेश नं १ प्रदेश सभाले आयोजना गरेको उक्त संघीयता कार्यन्वयनमा प्रदेश सभाको भूमिका विषयक गोष्ठीमा दुई दिन सातवटै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरूले गहन समीक्षा गरेका थिए । 

भेलामा बरिष्ठ संविधान विज्ञ काशीराज दाहालले संघीयता प्रर्वद्धनमा प्रदेश सभाले खेलेको भूमिका र आइपरेका समस्या र चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए । भेलालाई दोस्रो दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सम्बोधन गरेका थिए ।