झापा  / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने देखि लिएर संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिने विषयमा संसद्मा आवाज उठेको छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पर्यटनमन्त्री श्रेष्ठको राजिनामा माग र संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिने विषयमा आवाज उठाएका हुन् ।  

OM Sai Pathibhara Hospital

आफ्नो जिम्मेवारी पालना गर्दा सुरक्षागार्डलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विषयलाई लिएर बैठकको शून्य समयमा बोल्दै डा. विमला राई पौडेलले जनताले तिरेको करबाट तलबभत्ता खाने शासक नभएर सेवक रहेको भन्दै मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन् ।

‘जनताले तिरेको करबाट सेवासुविधा लिने हामी जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री र सरकारका सबै अंगहरू जनताका सेवक हुन्, शासक होइनन् । दुई दिन अगाडि एक जना विद्यमान मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा एउटा गार्डमाथि गरेको अमानवीय व्यवहार एकदमै अस्वीकार्य छ,’ उनले भनिन्, ‘उहाँले (मन्त्री श्रेष्ठ) सार्वजनिक रुपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ, तर सार्वजनिक रुपमा भने माफी माग्नुपर्छ ।’

त्यस्तै मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शेरबहादुर तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । साथै उनले उक्त विधेयक आफूहरूलाई स्वीकार्य नहुने र त्यसपछि उत्पन्न परिस्थितिको कानुनमन्त्रीले जिम्मेवारी लिनुपर्ने चेतावनी दिए ।

‘सरकारले यो विधेयक फिर्ता लिओस् भन्ने हामी चाहन्छौँ । कानुनमन्त्रीले आज फिर्ता लिएँ भन्नुभएन भने त्यसपछाडिको परिस्थिति उहाँले बेहोर्नुपर्छ,’ तामाङले भने ।

उनले निर्वाचन घोषणा भएपछि संसद् स्वतः कोमामा जानुपर्ने र अधिवेशन अन्त्यको घोषणा गर्नुपर्नेमा विभिन्न बहानामा यसको कार्यकाल लम्बाएर तलब भत्ता खाइरहेकोमा आपत्ति समेत जनाए ।