विराटनगर  / मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गरेको छ।

 २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट २ क्षेत्रमा उम्मेदवार भई विजयी भएको माओवादी केन्द्रले यस पटक सत्तारुढ गठबन्धनबाट चुनाब लड्ने तयारीमा छ । गठबन्धनको भागबन्डा टुंगो नलागेको बेला सबै क्षेत्रबाट उम्मेद्वार सिफारिस भएको पार्टीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

माओवादीले क्षेत्र नम्बर १ बाट प्रेम लिम्बूलाई सिफारिस गरेको छ । उनी पार्टीका प्रदेश कमिटी सदस्य हुन् । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा बाम गठबन्धनका एमाले उम्मेदवार घनश्याम खतिवडा विजयी भएका थिए ।

क्षेत्र नम्बर २ बाट गणेश उप्रेती (सुशील)लाई प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको छ । उनी पार्टीको प्रदेश कमिटी सचिव हुन् । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका एमाले उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल बिजयी भएका थिए ।

क्षेत्र नम्बर ३ बाट सावित्रीकुमार काफ्ले, खेम भट्टराई (दिपक) र खेम सुन्दास (अरुण)को नाम सिफारिस गरेको छ । पार्टीको पोलिटब्युरो सदस्य रहेका काफ्ले २०६४ को निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका थिए । २०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका एमाले उम्मेदवार भानुभक्त ढकाल विजयी भएका थिए ।

अघिल्लो पटक बाम गठबन्धनबाट माओवादी उम्मेदवार अमनलाल मोदी विजयी भएको क्षेत्र नम्बर ४ मा यस पटक पनि माओवादीले मोदीलाई नै उम्मेदवार बनाउने भएको छ । पार्टीको केन्द्रीय सदस्य रहेका उनले काँग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए ।

क्षेत्र नम्बर ५ बाट बहालवाला सांसद शिवकुमार मण्डको नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा कांग्रेसका अमृत अर्याललाई मण्डलले पराजित गरेका थिए ।

क्षेत्र नम्बर ६ मा भोगेन्द्र यादव र नवीन पौडेलको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डित विजयी भएका थिए ।