झापा / आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् ।  

आकांक्षी धेरै भएपछि उम्मेदवार सिफारिस टुंगो लगाउन कसरत गरिरहेको एमालेले सबै पदाधिकारीलाई निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ । 

OM Sai Pathibhara Hospital

एमालेका १९ पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल प्रतिनिधिसभामा समानुपातिक तर्फ उम्मेदवार बन्दै छन् भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अन्य पदाधिकारी प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ एकल उम्मेदवार सिफारिस भएका छन् । 

तर, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भने एकल एकल सिफारिस हुन सकेनन् । सचिव योगेश भट्टराई, टोपबहादुर रायमाझी, पदमा अर्याल, छविलाल विश्वकर्मा सिफारिस हुन बाँकी छन् । 

एमालेबाट हालसम्म १८ जनाको नाम सिफारिस भएको छ । को काँबाट सिफारिस भए ?

केपी ओली

एमाले अध्यक्ष ओली झापा –५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारि गरेको हो । २०४८ सालको संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका ओलीले नेपाली कांग्रेसका पूर्णनन्द शर्मालाई पराजित गर्दै संसदमा पुगेका थिए ।  

२०५१ सालको संसदीय निर्वाचनमा ओली फेरि निर्वाचित भए । उनले कांग्रेसका केशवकुमार बुढाथोकीलाई पराजित गरेका थिए । २०५६ सालको संसदीय निर्वाचनमा कांग्रेसका काशीलाल ताजपुरियालाई पराजित गर्दै ओली तेस्रो पटक निर्वाचित भए । 

तर, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने ओली नेकपा माओवादीका विश्वदिप लिङदेनसँग पराजित भएका थिए । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ओलीले कांग्रेसका सुरेशकुमार योङगयालाई पाराजित गर्दै फेरि निर्वाचित भएका थिए । 

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओली पाँचौ पटक निर्वाचित भएका थिए ।  

ईश्वर पोखरेल

काठमाडौँ क्षेत्र नम्बर –५ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सिफारिस भएका छन् । पोखरेल २०७४ को आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ मा भारी अन्तरले विजयी भएका थिए।

पोखरेल २३ हजार २९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए ।

शंकर पोखरेल

एमालेका महासचिव पोखरेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । उनी २०७४ को निर्वाचनमा दाङ २ (क) बाट निर्वाचित भएर लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए ।

सुरेन्द्र पाण्डे

एमालेका उपाध्यक्ष पाण्डे चितवन क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन् । पाण्डेसहित केन्द्रीय सदस्य जगन्नाथ थपलिया पनि सिफारिस भएका छन् । पाण्डे सो क्षेत्रबाट अहिले पनि सांसद रहेका छन् । यसअघि विसं २०७० र विसं २०७४ को निर्वाचनमा पाण्डे चितवन १ बाट निर्वाचित भएका थिए । 

सुवास नेम्वाङ

इलाम क्षेत्र नं २ बाट एमालेले सुवासचन्द्र नेम्वाङलाई एकल उम्मेदवार सिफारिस गरेको छ । नेम्वाङ २०५६ सालयता भएका सबै संसदीय/संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निरन्तर विजयी भइरहेका छन् । उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए ।

विष्णु पौडेल

एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसममत रुपमा सिफारिस भएका छन् । पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रुपमा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा उनले काँग्रेसका नेता सूर्यप्रसाद प्रधानलाई हराएका थिए भने २०७० सालको निर्वाचनमा तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराईलाई पराजित गरेका थिए । यस्तै, गत आम निर्वाचनमा पौडेलले काँग्रेस नेता युवरा गिरीलाई २२ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएका थिए ।

खिमलाल भट्टराई

नेकपा (एमाले)ले रूपन्देही क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराईलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका भट्टराई अहिले राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हुन्।

भट्टराई २०७४ सालमा नेपाली काङ्ग्रेसका भरत कुमार शाहसँग पराजित भएका थिए । काङ्ग्रेसले अहिलेपनि शाहलाई नै उम्मेदवार सिफारिस गरिसकेको छ । २०७४ मा शाहले ३३ हजार ८८ मत ल्याएर विजयी हुँदा एमाले–माओवादी केन्द्रको गठबन्धनका डिलराम आचार्यले २० हजार ४३८ मत पाएका थिए ।

प्रदीप ज्ञवाली

प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नं १ बाट एकल सिफारिस भएका छन् । ज्ञवाली २०७४ सालमा पनि गुल्मी क्षेत्र नम्बर १ बाट विजयी सांसद हुन् । ज्ञवालीले २०६४ र २०५४ मा पनि गुल्मी २ बाट चुनाव जितेका थिए ।

२०७० सालमा भने यस क्षेत्रबाट चन्द्र भण्डारी विजयी भएका थिए। २०७४ मा माओवादीसँग चुनावी तालमेल गर्दा ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गरी विजयी हुँदा भण्डारीले ३० हजार २५६ मत पाएका थिए।

पृथ्वीसुब्बा गुरूङ

एमालेका उप–महासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ पुनः प्रदेश सभा सदस्यका लागि सिफारिस भएका छन् । २०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा ’ख’ बाट चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका थिए । गुरूङ यस पटक प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने चर्चा भएपनि पुनः लमजुङको प्रदेश क्षेत्र (ख) बाट उम्मेदवारमा सिफारिस भएका हुन् ।

विष्णु रिमाल

अर्का उपमहासचिव रिमाल नुवाकोट क्षेत्र नम्बर १ बाट सिफासिर भएका छन् । उनी पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन् ।

गोकर्ण विष्ट

गुल्मी क्षेत्र नम्बर २ बाट गोकर्ण बिष्ट सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उमेदवारका लागि उनको नाम एकल सिफारिस भएको हो । विष्ट २०५६ र ७० मा साबिकको क्षेत्र नम्बर ३ बाट २ पटक निर्वाचित भएका थिए ।

लेखराज भट्ट

एमालेले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनका लागि लेखराज भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको छ । एमाले केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज भट्ट २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए ।

रघुवीर महासेठ दम्पती

प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ धनुषा क्षेत्र नं। ३ र ४ बाट रघुवीर महासेठ दम्पती सिफारिस भएका छन् । उनीहरु धनुषा क्षेत्र नं. ३ र ४ बाट एकल सिफारिस भएका हुन् । २०७४ सालको निर्वाचनमा मधेश प्रदेश एमालेका इन्चार्ज समेत रहेका महासेठ क्षेत्र नम्बर ४ बाटै निर्वाचित सांसद हुन् भने महतो समानुपातिकमा निर्वाचित भएकी थिइन् ।

गोकुल बाँस्कोटा

आसन्न प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्री गोकुल बाँस्कोटा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । बाँस्कोटा २०७४ मा काभ्रेपलाञ्चोक–२ बाट निर्वाचित भएका थिए ।

राजन भट्टराई

एमालेको काठमाण्डु क्षेत्र नम्बर ४ मा राजन भट्टराईलाई सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो । भट्टराई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार हुन् । २०७४ को चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका भट्टराई कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भएका थिए ।

युवराज ज्ञवाली

दाङ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि तीन जना सिफारिस भएका छन् । केन्द्रीय उपाध्यक्ष ज्ञवालीसहित केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डे र कोमलवलीको नाम प्रतिनिधिसभा सदस्यकालागि सिफारिस गरिएको छ ।

ज्ञवाली पुर्व स्थानीय विकासमन्त्री हुन भने पाण्डे तुलसीपुर उपमहानरपालिका निवर्तमान मेयर र वलीनिर्वतमान राष्ट्रियसभा सदस्य हुन् ।

घनश्याम भुसाल

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा घनश्याम भुसालसहितसहित ४ जनाको नाम सिफारिस भएको छ । जसमा भुसालसहित भासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसालको नाम सिफारिस भएको छ ।

भुसाल २०७४ सालको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट राप्रपा कांग्रेस गठबन्धनका उम्मेदवार दीपक बोहोरालाई पराजित गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।