बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । 

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज (बिहीबार) बसेको बैठकले शर्माको नाम सिफारिस गरेको हो । 

OM Sai Pathibhara Hospital

उनले यसअघि संसदीय चुनावमा दुई पटक ०७० र ०७४ सालमा पराजय भोगिसकेका छन् । उनले ०७० सालमा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका राम कार्कीसँग पराजय भोगेका थिए ।

शर्माको निर्वाचन क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाकाको वडा नम्बर ९ र १०, बुद्धशान्ति गाउँपालिकाकाे वडा नम्बर ४, ५, ६ र ७ समेटिएको छ ।

स्थानीय निर्वाचनमा एमालेले ३१ हजार २३२ मत प्राप्त गर्दा कांग्रेसले २४ हजार ५९ मत प्राप्त गरेको छ । कांग्रेस र एमालेले पाएको मतको अन्तर ७ हजार १७३ छ ।

तेस्रो शक्तिका रुपमा देखिएको राप्रपाले ५ हजार ९२२ मत प्राप्त गर्दा माओवादीले ३ हजार ९०५, नेकपा एसले १ हजार २५२ र लोसपाले १६२ मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा गठबन्धनका दलले २९ हजार २१६ मत पाएका छन्। जुन एमालेको सिंगल मत भन्दा २ हजार १६ कम हो ।

एमाले र राप्रपाबीच तालमेल हुँदा एमालेका पक्षमा ३७ हजार १५४ मत हुन्छ । जुन सत्ता गठबन्धन भन्दा ७ हजार ९३८ मत बढी हो ।  स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्ने हो भने शर्माका लागि यो पटक पनि संसद् भवन छिर्ने बाटो सहज देखिँदैन ।