बिर्तामाेड / पछिल्लो समय झापाको बुद्धशान्ति गाउँपालिकामा क्यान्सर रोगका बिरामीहरू बढ्दै गएका छन् । 

गाउँपालिकाकी नरसिंह निरीक्षक तथा स्वास्थ्य सह–संयोजक उमा उप्रेती (अधिकारी)का अनुसार गत वर्षको तुलनामा यस वर्ष  क्यान्सर रोगका बिरामीहरू बढेका हुन् । 

OM Sai Pathibhara Hospital

पालिका भित्रका क्यान्सर पीडितको यकिन तथ्याङ्क थाहा नभएपनि सरकारले क्यान्सर पीडितहरूलाई दिँदै आएको अनुदान लिन आर्थिक वर्ष २०७८/७९ मा अनुदान लिन १६ जना क्यान्सरका बिरामी आएका स्वास्थ्य सह–संयोजक उप्रेती बताइन् । 

तर, आर्थिक वर्ष २०७९/८० को पछिल्लो एक महिनामै पालिका भित्र छ जना क्यान्सरका बिरामीहरू फेला परेका छन् । बुद्धशान्ति गाउँपालिकामा विशेष गरेर तरकारी खेती गरिने भएकाले तरकारीमा हाल्ने विषादीका कारण पनि क्यान्सरका बिरामीहरू बढ्न थालेका उप्रेतीको भनाई छ । 

दुई वर्षको तथ्याङ्क हेर्दा क्यान्सर रोगबाट पुरुष भन्दा बढी महिला पीडित रहेको पाइएको छ । गत आर्थिक वर्षमा पालिकामा अनुदान लिन आएका १६ जना बिरामी मध्ये १० जना महिला र ६ जना पुरुष रहेका थिए । 

त्यस्तै साउनमा मात्रै अनुदान लिन आएका छ जना क्यान्सरका बिरामीहरू मध्ये एक जना १२ वर्षीया बालिका छिन् भने चार जना महिला र एक जना पुरुष रहेका उप्रेतीले बताइन् । 

महिलामा विशेष गरी स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने गरेको छ भने पुरुषको घाँटी र मुखमा बढी क्यान्सर रोगले आक्रमण गरेको स्वास्थ्यकर्मीको भनाइ छ । 

प्रदूषणयुक्त वातावरणमा काम गर्नु, खानपानमा ध्यान नदिनु, छिटोछिटो बच्चा जन्माउनु, उमेर नपुग्दै आमा बन्नु, सरसफाइमा ध्यान नदिनेजस्ता कारणले गर्दा महिलामा बढी क्यान्सर रोग लाग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

सरकारले क्यान्सरका बिरामीलाई  ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ अन्तर्गत विपन्न नागरिक कोषबाट एक लाख रुपैयाँ अनुदान दिँदै आएको छ । 

त्यस्तै प्रदेश १ सरकारले पनि ‘रोग पालेर होइन फालेर बचौं’ नारासहित पाठेघर र स्तन क्यान्सरको रोकथाम र उपचारलाई महत्त्व दिएपनि विषादी रहित वातावरण सिर्जना गर्न भने त्यति भूमिका खेलेको पाइदैन । 

क्यान्सर रोग लागेको पहिलो र दोस्रो चरणमा नै उपचार गरियो भने यो रोगबाट बच्न सकिन्छ । तर, दोस्रो चरण पार गरेपछि तेस्रो र चौथो चरणमा पुगेका बिरामीलाई भने बचाउन समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । 

सामान्यतया ज्वरो आइरहनु, पिसाब वा दिसामा रगत देखिनु, शरीरको कुनै पनि भागमा गिख्रा देखिनु, शरीरमा लागेको चोटहरू निको नहुनु, आवाजमा असामान्य परिवर्तन हुनु, खकारमा रगत देखिनु, अपच हुनु, दिसा सामान्य रूपले नहुनु र लामो समयदेखी खोकी लाग्नु
क्यान्सरको लक्षण रहेको स्वास्थ्य कर्मीको भनाई छ । 

सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेमा र घामबाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने क्यान्सर विज्ञको भनाइ छ ।