बिर्तामोड / पछिल्लो समय कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । कोरोनाको चौथो लहर आएसँगै बिहीबार सबै भन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । त्यस्तै बुधबार तीन, मंगलबार दुई र सोमबार एक सङ्क्रमितको मृत्यु भएको थियो ।

OM Sai Pathibhara Hospital

साउनदेखि हालसम्म ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल, कोरोना सक्रिय संक्रमित संख्या ५ हजार ८ सय ६९ पुगेको छ । 

पछिल्लो समय संक्रमण दर वृद्धि हुँदै गएकाले आगामी साता थप जोखिमपूर्ण हुन सक्ने भएकाले स्वास्थ्य मापदण्ड र सावधानी अपनाउन विज्ञले सुझाएका छन् ।

नेपालमा हालसम्म ११ हजार ९ सय ८२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेर समूहका छन् । 

६० देखि ६९ वर्षका २ हजार ५ सय ११, ७० देखि ७९ वर्षका २ हजार ३ सय ९३, ५० देखि ५९ का २ हजार ३ सय ५, ४० देखि ४९ का १ हजार ६ सय ६६, ८० वर्षमाथिका १ हजार ६ सय ४०, ३० देखि ३९ वर्षका ९ सय ६५, २०–२ ९ वर्षका ३ सय ८१, १०–१९ वर्षका ५७, नौ वर्षमुनिका ५१ र अज्ञात १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल, नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोना विरुद्धको खोप नलगाएको पाइएको छ । एक महिनाको तथ्यांक हेर्दा मृत्यु भएकामध्ये १५ जनाले खोप नलगाएको भेटिएको छ । खोप नलगाएकामा गम्भीर संक्रमणसमेत देखिएको छ । 

कोरोना संक्रमण दरको ग्राफ उकालो लाग्दा चौथो लहरको संकेत गरे पनि सरकारले आधिकारिक रूपमा भनेको छैन । नेपालमा पहिलोपटक ९ माघ २०७६ मा संक्रमण पुष्टि भएको थियो । दोस्रो संक्रमित १० चैतमा देखियो ।

दोस्रो संक्रमित देखिएपछि मुलुकभर लकडाउन भयो । कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) सोमबार १७ प्रतिशत नाघेको छ । दर तीव्र रूपमा दर वृद्धि हुन थालेपछि महामारी जोखिम बढेको छ । 

गत १ असारयता निरन्तर कोरोना संक्रमण दर बढ्नेक्रममा छ । १ असारमा कोरोना संक्रमण दर ०.६४ प्रतिशत रहेकामा २ साउनसम्म आइपुग्दा संक्रमण दर बढेर १७ प्रतिशत पुगेको छ ।

नेपालमा हालसम्म पूर्ण खोप लगाउनेको संख्या ७० दशमलव ७ प्रतिशत अर्थात् २ करोड ६४ लाख ६ हजार ३ सय ७९ पुगेको छ । बाँकी ३० प्रतिशतले अझै कोरोना पूर्ण खोप लगाउन बाँकी छ ।