जनकपुर / ‘भारत गौरव पर्यटक रेल’ आज अपरान्ह जनकपुरधाम आउने भएको छ । १४ डिब्बामा करिब ५ सय जना भारतीय धार्मिक पर्यटक बोकेर  उक्त रेल जनकपुरधाम आउने भएको हो।

जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो ।

OM Sai Pathibhara Hospital

भारत सरकारको महत्वकाङ्क्षी योजना ‘रामायण सर्किटमा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष ब्यवस्था गरिएको छ ।

भारतीय पर्यटकहरूलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गर्नेछ भने जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा उनीहरूलाई सहभागी गराइनेछ ।

मंगलबार साँझ सफदरगञ्ज, नयाँ दिल्ली रेल स्टेसनबाट प्रस्थान गरेको सो रेल ३ दिनपछि अयोध्या, नन्दीग्राम हुँदै रामायणकालीन स्थानहरूको भ्रमण गरेर शुक्रवार अपरान्ह नेपाल प्रवेश गर्न लागेको हो ।

समय तालिकाअनुसार अपरान्ह १२ बजे जयनगर आइपुग्ने सो रेलले त्यसपछि नेपालको यात्रा तय गर्नेछ । शनिवार पुनः नेपाल भारत फर्कने सो रेलले बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै सफदरगञ्ज पुग्नेछ ।