काठमाडौं / राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले सुर्तिजन्य पदार्थको सेवनबाट नेपालमा वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको बताएका छन् । 

शर्माले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

सुर्तीजन्य पदार्थको खेती, उत्पादन, सेवनका कारण निम्त्याउने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थरहित दिवसलाई वर्षैभरि अभियानको रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तिजन्य पदार्थको सेवनका कारण जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ ।

विश्वमा हरेक वर्ष ३५ लाख हेक्टर जमिन सुर्ती खेतीका लागि नष्ट गरिन्छ । सुर्ती खेतीका कारण वन फँडानी हुने र माटोको उत्पादकत्वमा समेत ह्रास हुने गरेको पाइएको छ । 

नेपालमा सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ जारी गरिएको छ । 

ऐनअनुसार सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिजन्य पदार्थ सेवन गरेमा एक सय रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुबै सजाय हुनसक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ ।

१८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तिजन्य पदार्थ बिक्रीवितरण गर्न गराउन वा निःशुल्क उपलब्ध गराउन नपाइने, यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने सुर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइने लगायत ८ वटा प्रावधान राखिएको छ ।