काठमाडौँ  / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन क्षेत्र पुनर्निर्धारणका माग अगाडि सारेका छन् । 

प्रतिनिधिसभा बैकठमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै यादवले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेका हुन ।

OM Sai Pathibhara Hospital

मधेसमा जनसंख्या बढेको भन्दै यादवले त्यसै अनुसार निर्वाचन क्षेत्र परिवर्तन गर्नुपर्ने बताएका हुन् । ‘जुनबेला संसदीय निर्वाचन क्षेत्र तय गरिएका थिए त्योबेला ४६ प्रतिशत जनसंख्या थियो मधेसमा । आज ५३ प्रतिशत पुगेको छ जनसंख्या ।’ उनले भने– यो ५३ प्रतिशत जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्छ ।’

यादवले संविधानमा समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था पनि अपूरो भएको बताएका छन् । उनले सही किसिमले पछि पारिएको वर्ग र क्षेत्रलाई राज्यका निकायमा प्रतिनिधित्व हुनेगरि समानुपातिक र समावेशिताको विषय राख्नुपर्ने बताए ।

संघीयता कार्यान्वयन अल्झिएको पनि सत्तारुढ गठबन्धनमा रहेको जसपाका अध्यक्ष यादवको भनाइ छ। 

प्रदेशहरू कानुन, अधिकारको अभावमा प्रहरी प्रशासन र कर्मचारीको अभावमा कार्यमा जुन क्षमता देखाउनुपर्ने थियो त्यो देखाउन नसकेको तर प्रदेशहरूमाथि दोष लागिराखेको भन्दै यादवले सरकारको ध्यानाकर्षण गरेका छन् । 

यादवले नागरिकता विधेयक ल्याएर नागरिकता विहीनताको समस्या समाधान गर्न पनि आग्रह गरे ।