झापा / प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी चढेको गाडी अनेरास्ववियु झापाका विद्यार्थीले सडकमै रोकेर मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरेका छन् । 

नेकपा एमाले निकट अनेरास्ववियु झापाका विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राख्दै नेपाल आयल निगम, चारआली डिपो घेराउ गर्ने क्रममा मन्त्री सवार गाडी रोकेर विरोध प्रदर्शन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

बिहीबार बिहान चारआली डिपोसम्म र्‍याली सहित विरोध प्रदर्शन गर्दै गएका विद्यार्थीले मन्त्री सवार प्रदेश १–०४–००१ झ ००३२ नम्बरको सेतो रङ्गको गाडी २० मिनेटसम्म रोकेका थिए । 

विद्यार्थीले गाडी रोकेपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । सरकारी नम्बर प्लेट भएका दुई वटा गाडी र एउटा मोटरसाइकलको चाबी खोसेर प्रहरीलाई जिम्मा लगाएको विद्यार्थी नेता विशाल गिरीले जानकारी दिएका छन् । 

विद्यार्थीले नेपाल आयल निगम चारआली डिपो घेराउ गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, विदेशी दलाल होसियार र गठबन्धन सरकार मुर्दावाद जस्ता नाराबाजी समेत लगाएका थिए ।