झापा / विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् ।

निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी आफूले राजीनामा दिएको मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

साथै मिश्रले संयोजक मिलन पाण्डेलगायतका नेताहरूलाई गरिएको कारबाही फिर्ता लिन पनि केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितलाई अनुरोध गरेका छन्। 

पार्टीलाई अगाडि बढाउने विषयमा केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षा गरी निर्णय लिने पनि उनले अपेक्षा राखेका छन् ।

संयोजक पाण्डेसहितका नेताहरूलाई कारबाही फिर्ता लिन अनुरोध गर्दै मिश्रले भनेका छन्, ‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइ भन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्ताबेज प्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।‘

पार्टीको हित र विधानविपरीत कार्य गरेको भन्दै अध्यक्ष मिश्रले गत पुष ६ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पाण्डेलाई निकालेका थिए ।