काठमाडौँ / अर्थतन्त्र सुधारका लागि विलासी बस्तुको आयातमाथि कडाइ गरेपछि दुई महिना देखि आयात हुन नसकेको सुनको आयात फेरी पनि रोकिएको छ । मुस्लिम मुलुकबाट सुनको आयात गर्नुपर्ने भएपछि ती मुलुकमा इदका पर्वको महिना चलिरहेकाले गर्दा सुन आयात प्रभावित भएको हो । 

इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने पर्व इद उल फित्रका कारण एक हप्तादेखि सुनको आयात रोकिएको छ । अघिल्लो साता सरकारले आयात कडाइ गरेका वस्तुको सूचीमा सुन नपरेपछि यसको आयातका लागि बाटो खुला भएको थियो । 

OM Sai Pathibhara Hospital

गत बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० वस्तु बाहेक अन्यको आयातमा लचकता अपनाएपछि बैंकहरूले सुन आयातका लागि स्वीकृति लिन थालेका थिए । त्यससँगै ग्लोबल आइएमई र प्रभु बैंक गरि दुई वाणिज्य बैंकहरूले एक सय किलो सुन ल्याउनका लागि स्वीकृति समेत लिइसकेको भएपनि सुनको आयात हुन सकेको छैन । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा सुनको माग खुम्चिँदै जाँदा सुनचाँदी व्यवसायीहरूले बैंकबाट सुन किन्न नै छोडेका थिए । 

व्यवसायीले सुन किन्न छोडेपछि वाणिज्य बैंकहरूसँग १६७ किलो सुन झन्डै एक महिना मौज्दातमा बसेको थियो । यसरी भएको सुन व्यवसायीले किन्न चासो नदेखाएपछि बैंकहरूले पनि सुन आयातका लागि स्वीकृति नै लिन बन्द गरेका थिए ।

व्यवसायीहरूले वैशाख बिहेको महिना भएकोले बैंकसँग भएको सुन उठाउन थालेपछि १६७ किलो सुन एक सातामै स्टक आउट भएको थियो । जसको कारण अझैपनि बैंकहरूसँग सुनको मौज्दात शून्य रहेको छ।

बिहेको महिना आएसँगै सुनको माग बढेपछि त्यसकै आधारमा दुई बैंकले सरकारले आयात खुकुलो बनाएसँगै सय किलो सुन आयात गर्न खोजेका हुन् ।

सो सुन अब भने यो साताभित्रै नेपाल आउने संघले जनाएको छ। मङ्गलबारबाट इद सकिने भएकाले त्यसपछि दुबईको आर्थिक र व्यापारिक गतिविधि पनि सामान्य अवस्थामा फर्किने भएकाले यो साताभित्र उक्त सुन नेपाल आइपुग्ने बताइएको छ ।