काठमाडौं / धितोपत्र बोर्डले निर्देशन दिएपछि नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७७ कार्यान्वयनमा ल्याएको छ । 

दुई वर्षअघि नै लागू भइसकेको उक्त कार्यविधिको लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीहरूले विरोध गरेपछि पुनः संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो ।

मार्जिन कारोबार सुविधा अन्तर्गत कुनै लगानीकर्ताले तत्काल सेयर कारोबारका गर्न ब्रोकरकहाँ सेयर धितो राखेर कर्जा लिन सक्छन् । बैंकको भन्दा केही महँगो ब्याजदर तोकिएको सो सुविधा अल्पकालीन कारोबारका लागि सहज भए पनि दीर्घकालीन कारोबारका लागि भने महँगो हुने गरेको छ ।

कार्यविधिमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचिकृत सङ्गठित संस्थाको सेयरको १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये कम भएकोलाई मात्र चयन गर्ने गरेका छन् ।

त्यसको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिने गरेका छन् । यस्तै मार्जिन कारोबार सुविधाको लागि सम्भार मार्जिन (मेन्टिनेन्स मार्जिन) २० प्रतिशत हुने गरेको छ । 

मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ ।

त्यसको दोस्रो दिनभित्र सम्बन्धित लगानीकर्ताले मार्जिन कारोबार योग्य धितोपत्रहरू जम्मा गरी वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्नु पर्नेछ ।

मार्जिन कल गरेको तेस्रो कार्य दिन भित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि नपुर्याएमा वा मार्जिन खाता अन्तर्गतका धितोपत्रहरूको बजार मूल्यमा आएको परिवर्तनले सो मार्जिन २० प्रतिशत भन्दा माथि कायम हुन नसकेमा सदस्य दलाल व्यवसायीले चौथो कार्यदिनमा वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्री गर्न सक्ने छ ।

मार्जिन कल गरे पश्चात कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको वास्तविक मार्जिन १५ प्रतिशत वा सो भन्दा तल आएमा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको मार्जिन खातामा वास्तविक मार्जिन बीस ९२०० प्रतिशत भन्दा माथि कायम गर्न आवश्यक पर्ने धितोपत्रहरू बिक्री गर्नेछ । 

धितोपत्र बिक्री गर्दा सदस्य दलाल व्यवसायीलाई लगानीकर्ताको अनुमति आवश्यक पर्ने छैन ।

सम्भार मार्जिन भन्दा वास्तविक मार्जिन कम हुन आएमा ७ कार्य दिनको समय दिई वास्तविक मार्जिन संभार मार्जिन भन्दा माथि कायम गर्न सदस्य दलाल व्यवसायीले निश्चित प्रतिशत मार्जिन कल गर्न सक्नेछ । 

७ कार्य दिनमा व्यवसायीले तोकको सम्भार मार्जिन कायम गर्न नसकेमा आठौँ कार्य दिन पश्चात् वा खाता बन्द हुनु भन्दा ५ दिन अगावै वास्तविक मार्जिन सम्भार मार्जिन भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्रहरू बिक्री गर्न सक्नेछ ।