काठमाडौं / अर्थतन्त्र धर्मराउन थालेपछि सजग बन्दै सरकारले समेत हप्तामा दुई दिन बिदा गर्ने जस्ता नियम लागू गरेको समयमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) बढेको देखिएको छ । 

मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको र इन्धन आयातमा पनि चुनौती भइरहेको समयमा बढ्दो एफडिआईले अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने भएको हो । 

OM Sai Pathibhara Hospital

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिना (चैतसम्म) मा करिब साढे ३३ अर्बभन्दा बढी लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।

गत आवको सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो । अघिल्लो वर्षको तुलनामा सात अर्ब २८ अर्ब रुपैयाँ बढी लगानीको प्रतिवद्धता आएको छ ।

त्यसैगरी एक सय ५५ उद्योगका लागि लगानी बोर्डले लगानी स्वीकृत गरेको समेत उद्योग विभागले जनाएको छ । पछिल्लो समय नीतिगत सुधार गर्दै लगे पछि विदेशी लगानीमा सुधार आएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताएका छन् । 

चालु आवमा मात्र २१ हजार ६ सय २३ रोजगारी सिर्जना गर्ने गरी एक सय ५५ उद्योगले स्वीकृति लिएका छन् । विभागका अनुसार नेपालमा अहिलेसम्म करिब तीन खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत भएको छ । 

विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, म्यानुफ्याक्चरिङ, लगायतका क्षेत्रमा स्वीकृति लिने गरेका छन् । 

विदेशीले सानादेखि ठूला उद्योगमा लगानी गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिएका हुन् । पछिल्ला वर्ष अन्य देशको तुलनामा चीनको लगानी प्रतिबद्धता बढेको छ ।

सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन जारी गरी कार्यान्वयनमा ल्याएको छ । लगानी बोर्ड र उद्योग विभागबाट अनुमति लिए पनि विदेशी लगानी राष्ट्र बैंक मार्फत नै आउँने गरेको छ ।