झापा / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी दिएको छ । 

निर्वाचन आयोगको उम्मेदवारी लगत विवरणअनुसार अन्य दलभन्दा एमालेबाट उम्मेदवारी दर्ताको संख्या बढी देखिएको हो । 

OM Sai Pathibhara Hospital

निर्वाचन आयोगको लगतअनुसार प्रमुख पदमा एमालेबाट दुई सय ८१ जनाको उम्मेदवारी परेको छ भने अध्यक्ष पदमा चार सय ४३ जनाको उम्मेदवारी दर्ता भएको छ । 

त्यस्तै उपप्रमुख पदमा दुई सय ७६ र उपाध्यक्षमा तीन सय ५७ जनाको उम्मेदवारी परेको छ । एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार २३४ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्कमा उल्लेख छ । 

सत्तारुढ दल नेपाली काँग्रेसबाट प्रमुख पदमा दुई सय ५७ र अध्यक्षमा ३८० जनाको उम्मेदवारी परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४१ जनाको उम्मेदवारी परेको छ । 

नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदका लागि २८७ जनाको उम्मेदवारी परेको छ भने स्वतन्त्रबाट प्रमुख पदमा १३१७ र अध्यक्ष पदमा १००६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।  

उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल नेपाली काँग्रेसलाई उम्मेदवारी दर्तामा उछिनेको छ । उपप्रमुखमा राप्रपाबाट २२१ उम्मेदवारी परेको छ भने काँग्रेसबाट २०४ उम्मेदवारी परेको देखिएको छ । सोहीअनुसार उपाध्यक्ष पदका लागि काँग्रेसबाट ३५४ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३०६ जनाको उम्मेदवारी दर्ता भएको छ । 

त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६२४५, काँग्रेसबाट ५८५३, माओवादी केन्द्रबाट ४१९२ र स्वतन्त्रबाट ५६०२ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार महिला सदस्यका लागि एमालेबाट ६०३३, काँग्रेसबाट ५६९९, माओवादी केन्द्रबाट ३८६८, राप्रपाबाट १९८२ जनाको उम्मेदवारी दर्ता भएको छ । 

त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ५८६४, काँग्रेसबाट ५४४६, माओवादी केन्द्रबाट ३६२५, राप्रपाबाट १५६७ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार १५७, काँग्रेसबाट ११ हजार ३२५, माओवादी केन्द्रबाट ८ हजार ९८ र राप्रपाबाट ४ हजार ४७४ जनाको उम्मेदवारी दर्ता भएको छ ।