काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको छ । 

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा गरेको सर्वेक्षणमा नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो ।

OM Sai Pathibhara Hospital

सर्वेक्षणले मुलुकको अर्थतन्त्रको आकार, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन र जनसङ्ख्याका आधारमा वाणिज्य बैङ्कहरूको सङ्ख्या धेरै रहेको निष्कर्ष निकालेको छ । 

त्यस्तै , हाल सञ्चालनमा रहेका बैङ्क तथा वित्तीय संस्थाको कुल सङ्ख्या पनि आदर्श अवस्थाभन्दा बढी रहेको समेत देखिएको छ । 

सर्वेक्षणमा ५० प्रतिशतभन्दा बढी उत्तरदाताले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैङ्क भए पुग्ने राय दिएका छन् । 

यस्तै ५ प्रतिशत उत्तरदाताले पाँचदेखि १० वटा बैङ्क हुनुपर्ने राय दिएका छन् भने १५ प्रतिशतले १६ देखि २० वटा बैङ्क चाहिने बताएका छन् । बाँकीले भने २० देखि २५ बैङ्क हुनुपर्ने राय दिएका छन् ।

सर्वेक्षणमा सहभागी मध्ये ५७ प्रतिशतले सुविधा दिएर गाभ्ने अवसर दिनुपर्ने धारणा राखेका छन् भने २० प्रतिशतले फोर्स मर्जर गर्नुपर्ने बताएका छन् । ६१ प्रतिशतले कमजोर र बलिया बैङ्क तथा वित्तीय संस्था बीच मर्जर गर्नुपर्नेमा जोड दिएका छन् ।