बिर्तामोड / स्थानीय सरकारको चुनावका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै आयोगले आज मंगलबार दाबी विरोधको समय निर्धारण गरेको छ । 

आयोगका अनुसार उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित भएपछि उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिने समय सुरु हुने भएको हो । 

OM Sai Pathibhara Hospital

आइतबार र सोमबार ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएपनि राति अबेरसम्म मनोनयन दर्ता गर्नुपरेका कारण आयोगले उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गरेको छैन् ।

आयोगका अनुसार कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिन सक्नेछन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ४ मा निर्धारित गरिएको योग्यतालाई पालना नगरेको खण्डमा उम्मेदवारी दिएका विरुद्ध उजुरी दिन सकिने छ ।

गैर नेपाली नागरिक भएमा, नेपाल सरकार, प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेमा पनि दावी विरोध गर्न सकिनेछ । 

कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको र निर्वाचनसम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको पाइएमा उजुरी दिन सकिन्छ ।

भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएर वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति रहेछ भने पनि उजुरी दिन सकिन्छ ।

सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाएर वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको पाइएमा पनि उजुरी दिन सकिन्छ ।

बुधबार र बिहीबार दाबी-विरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ । आयोगका अनुसार १७ गते शनिबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।