बिर्तामोड / विभिन्न सेवा र सुविधा उपभोग गर्न लाभका पदमा पुगेका सरकारी कर्मचारीले सर्वसाधारण माथि जति ज्यादती गरेपनि उनीहरूलाई सजायको  सट्टा पुरस्कृत गर्दै जानु नेपालका लागि नयाँ विषय भने होइन । 

त्यस्तै , सरकार सञ्चालनको मुख्य दायित्व बोकेकाबाट पुरस्कृत भएपछि पनि सर्वसाधारणको हितको लागि सरकारी पदमा पुगेकाहरू विभिन्न भ्रष्टाचार र आपराधिक गतिविधिलाई निरन्तरता दिन खपिस हुँदै आएका छन् ।  

OM Sai Pathibhara Hospital

मुलुकमा नँया व्यवस्था भित्रिएसँगै सार्वभौमसत्ता र संघीयताको दुरुपयोग गर्दै सर्वसाधारणको बाध्यतामा उनीहरूलाई सताउन पल्केकाहरूले भ्रष्टाचारको बाटो अपनाउदै आएका छन् । 

यसरी नै नागरिकको हित अभिवृद्धिको महत्वपूर्ण योगदान गरेको भन्दै राज्यले विभूषित गरेको एक अधिकृतलाई घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महतलाई एक लाख ५० हजार रुपैयाँ घूस रकम सहित फुङलिङ नगरपालिका -४, कोप्चेबाट नियन्त्रणमा लिएको छ । 

२०७९ को बैशाखमा मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषित भएकी पनेरुले जग्गा दर्ता कायम गर्ने क्रममा सेवाग्राहीसँग घुस १ लाख ५० हजार रुपैयाँ मागेको सूचना तथा निवेदनका आधारमा आयोगले उनलाई नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताएका छन् । यसरी सर्वसाधारणलाई सेवा प्रदान गर्न र सहयोग गर्न निजामती कर्मचारीको रुपमा कार्यरत पनेरुले घुसको माग गरेपछि नियामक निकाय अख्तियारले अनुसन्धान थालेको हो ।