विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङमा १५ पालिकाको प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । 

जिल्लाका एक नेताकाअनुसार हालसम्म उर्लाबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा, रतुवामाई, लेटाङ, रंगेली, सुनवर्षी, बेलबारी नगरपालिकासँगै जहँदा, धनपालथान, कटहरी, ग्रामथान, कानेपोखरी, बुढीगंगा र केराबारी गाउँपालिकामा प्रमुख तथा उपप्रमुखको टुंगो लागेको हो।

OM Sai Pathibhara Hospital

एमालेले दक्षिण पूर्वी मोरङको सुनवर्षी नगरपालिकाको मेयरमा श्याम राजवंशी र उपमेयरमा मीरादेवी दास, सुन्दरहरैंचा नगरपालिकाको मेयरमा केदार गुरागाई र उपमेयरमा अकली चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

त्यस्तै रंगेली नगरपालिकामा केही समयअघि माओवादीबाट एमाले प्रवेश गरेका दिलिप बगडियाले मेयरको उम्मेदवारीमा निरन्तरता पाउने भएका छन्। हाल सो नगरपालिकाको मेयर रहेका बगडियाले पुनः उम्मेदवारी दिने भएका हुन्। एमालेले उपमेयरमा भूमा पराजुली निरौलालाई अघि सारेको छ। 

एमालेले उर्लाबारीको मेयरमा गंगा खरेल र उपमेयरमा मीना पौडेल, लेटाङको मेयरमा भूपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, पथरीशनिश्चरेको मेयरमा मोहन तुम्बापो र उपमेयरमा देविमाया काफ्लेलाई उम्मेदवार बनाएको छ । 

त्यस्तै रतुवामाई नगरपालिकाको मेयरको टिकट दुर्गा विष्टले पाएका छन् भने उपमेयरको उम्मेदवार भने टुंगो नलागेको जनाइएको छ । उपमेयरमा मा दमयन्तादेवी चुँडाल, सीता भुजेल, देवी गौतमको नाममा छलफल भइरहेको स्रोतको दाबी छ । 

बेलबारी नगरपालिकामा पनि एमालेबाट मेयरमा ज्ञानेन्द्र सुवेदीले निरन्तरता पाउने देखिएको छ।

धनपालथान गाउँपालिकाको अध्यक्षमा मसहरु मण्डललाई पार्टीले उम्मेदवार बनाउँदा उपाध्यक्षमा छलफल भइरहेको छ। कटहरी गाउँपालिकामा अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमति इङ्नाम र उपध्यक्षमा भोला अधिकारी, ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र उपाध्यक्षमा गुणावधी धामी अघि देखिएका छन्।

त्यसैगरी बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुसा विष्ट देखिएका छन् भने केराबारी गाउँपालिकामा अघिल्लो निर्वाचनमा प्रमुख गुमाएको एमालेले यसपटक सुमन मिरिङछिनको उम्मेदवारी रहने देखिएको छ। 

जसपाबाट मेयरमा जित हासिल गरेको जहँदा गाउँपालिकामा अध्यक्षको अन्तिम नामबारे छलफल भइरहेको छ। उपाध्यक्षमा अनिता सोरेन चयन भएको बताइएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले मोरङको ४ वटा पालिकामा प्रमुख र उपप्रमुख, एउटामा प्रमुख र ५ वटा पालिकामा उपप्रमुखमा जित हासिल गरेको थियो।