बिर्तामोड / मुलुकको अर्थतन्त्र थलिएर व्यापार घाटा खेपीरहेको बेला नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेपछि बैंकहरूमा निक्षेप बढेकाले तरलता अभाव नियन्त्रण हने संकेत देखिएको छ । विलासिताका वस्तु र निजी गाडी लगायतका वस्तुको आयातमा रोक्दै वस्तु आयात गर्दा  शत प्रतिशत मार्जिन राख्नु पर्ने निर्देशन प्रभावकारी बनेपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको हो । 

राष्ट्र बैंकले आयात कर्जा समेत प्रवाह गर्न बैंकहरूलाई मौखिक निर्देशन दिएको थियो भने नेपाल बैङ्कर्स एसोसिएसनले त्यसलाई लागू गरेसँगै आयात नियन्त्रण गर्दै ४४ अर्ब रुपैयाँ बराबरको निक्षेप बढाउन सहज भएको हो । तरलता अभावका कारण ऋण लिनका लागि व्यवसायी र सर्वसाधारण दुवै समस्यामा पर्दै आएका थिए । 

OM Sai Pathibhara Hospital

यस्तो समयमा राष्ट्र बैंकको मौखिक निर्देशन र समय सान्दर्भिक निर्णयका कारण वाणिज्य बैंकहरूमा चैत महिनामा मात्रै ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने चैतमा ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको छ । गत फागुन ३० गतेसम्म ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा बैशाख १ गतेसम्म ४३ खर्ब ७७ अर्ब पुगेको छ भने ऋण प्रवाह  बैशाख १ गतेसम्म ४१ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।

शोधनान्तर घाटा बढ्दै गएको र विदेशी मुद्राको सञ्चिति घट्दै गएको समयमा राष्ट्र बैंकले विलासिताका बस्तु र निजी गाडी लगायतका बस्तुको एलसी तत्काल रोक्न निर्देशन दिएको थियो । आयात रोक्ने विषयमा निर्णय लिन सरकारलाई पटक पटक सुझाव दिएपनि सरकारले वेवास्ता गरेपछि राष्ट्र बैंकले मौखिक निर्देशन कै आडमा आयातमा कडाइ गर्दै आएको थियो । 

राष्ट्र बैंकको मौखिक निर्देशन मात्र दिएको भएपनि त्यसलाई कार्यान्वयन गर्न नेपाल बैङ्कस संघले निकै ठुलो भूमिका खेल्दै आएको छ ।