झापा / सरकारले हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज स्थापनाको काम अघि बढाएको छ । 

चिकित्सा क्षेत्रमा जनशक्ति अभाव हुन नदिन र ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्ने योजना अनुसार मेडिकल कलेज स्थापनाको काम अघि बढाएको हो । 

OM Sai Pathibhara Hospital

२०८० सालसम्ममा हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने व्यवस्था चिकित्सा शिक्षा ऐन मै छ । शिक्षा मन्त्रालयले भने हरेक प्रदेशमा मेडिकल कलेज र प्रतिष्ठान गरि दुई–दुई वटा स्थापना गर्न लागेको हो । 

त्रिभुवन र काठमाडौं विश्वविद्यालयका २१ वटा मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको पढाइ हुन्छ । त्यसमध्ये महाराजगन्ज र सेनाको मेडिकल कलेजबाहेकका १९ वटा निजी हुन् । 

गेटा मेडिकल कलेज निर्माणकै चरणमा छ भने डडेलधुरामा सरकारले मेडिकल कलेज स्थापना गर्ने निर्णय गरिसकेको छ । अब सरकारले भैरहवामा मेडिकल कलेज, हेटौडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश २ मा राजश्री जनक र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बर्दिबासमा मेडिकल कलेज स्थापनाको प्रक्रिया शुरु गरेको छ । 

एउटा मेडिकल कलेज स्थापना गर्न ३ देखि ५ अर्ब रुपैयाँ चाहिन्छ । अहिले एमबिबिएस र बिडिएस अध्ययनका लागि बर्सेनी ५ सयभन्दा बढी विद्यार्थी विदेश जाने गरेका छन् । 

स्वदेशमै पर्याप्त मेडिकल कलेज स्थापना गरिए चिकित्सा क्षेत्रमा पर्याप्त जनशक्ति र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने मात्र नभएर अध्ययनका लागि बाहिरिने ठुलो रकम रोकिने छ ।