बिराटनगर / मोरङको रङ्गेली नगरपालिका –६ स्थित मधुवनीबाट मंगलबार साँझ सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याएको सामानसहित एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ । 

भारतबाट सामान सामान लिएर आएको प्रदेश १–०४–००१ च ०३६० नम्बरको पिकअपलाई सशस्त्र प्रहरी बल बिओपी बोर्डर आउट पोस्ट रङ्गेलीको टोलीले रोक्न खोज्दा चालक फरार भएपछि भ्यानलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

एसपी लामिछानेका अनुसार पिकअपमा विभिन्न ४८ प्रकारका तस्करीका सामान फेला परेका छन् । पिकअपबाट साइकल र मोटरसाइकलका पार्टपुर्जा, कपडा, चप्पल, जुत्ता, कार्पेट, हारबोजाइन लिक्विड, इलेक्ट्रिक मोटर, एयर मोटर, टेन्ट, प्लाष्टिकका प्लेटलगायतका सामानहरू बरामद गरेको एसपी लामिछानेले बताए ।  

चालकको खोजी भइरहेको छ भने बरामद भएको सामानसहित पिकअपलाई आवश्यक कारबाहीका लागि बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

सामान र पिकअपको मूल्य २२ लाख पाँच हजार रुपैयाँ बराबर कायम गरिएको एसपी लामिछानेले बताए ।