बिर्तामोड / कोभिडको उच्च जोखिम रहेको समयमा सिटामोलको अभाव सिर्जना हुँदा हस्तक्षेप गर्न नसकेको सरकारले मूल्यवृद्धिको बाटो खुल्ला गरेको छ ।

नियामक निकाय औषधी व्यवस्था विभागले ५०० मिलिग्रामको सिटामोलको क्षमता बढाएर औषधी उद्योगलाई ६५० एमजीको उत्पादन गर्न दिने निर्णय गरेसँगै मूल्यवृद्धिको बाटो खुल्ला भएको हो । 

OM Sai Pathibhara Hospital

स्वास्थ्य सचिव रोशन पोखरेलको अध्यक्षतामा चैत १० गते बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोललाई स्वीकृति दिन औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको थियो । 

नेपालमा ५०० एमजीको  मात्रा सिटामोल उत्पादन हुँदै आएकोमा विभागले ६५० एमजीको सिटामोललाई स्वीकृति दिएसँगै सिटामोलको मूल्य समेत वृद्धि हुने भएको छ । 

विभागले सिधै औषधीको मूल्य नबढाएर सिटामोलको क्षमता बढाउदै मूल्य बढाउने घुमाउरो बाटो रोजेको हो । 

विज्ञहरूका अनुसार हाल ८० प्रतिशतभन्दा बढी मानिसलाई  पारासिटामोलको ५०० एमजीकै चक्कीले काम गरिरहेको  छ । यसरी औषधिको क्षमता बढाउदा सर्वसाधारणको स्वास्थ्यमा घातक असर पर्ने विज्ञकाे भनाइ छ । 

कोभिड संक्रमण तीब्र भएकै बेला मूल्य बढाउनका लागि व्यवसायीहरूले औषधी बनाउने सामानको मूल्य बढेको भन्दै सिटामोलको अभाव गराएका थिए । 

त्यतिमात्र नभइ घाटा बढेको भन्दै सरकारी कम्पनी नेपाल औषधि लिमिटेडले नै करिब १५ दिन सिटामोल उत्पादन बन्द गरेको थियो ।

त्यतिबेला घाटा पूर्ति गर्न भन्दै औषधि लिमिटेडले अर्थ मन्त्रालयसँग १ करोड ६ लाख मागेको थियो । बजेट निकासा नभएपछि उत्पादन नै बन्द गर्‍यो । 

नेपालमा सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडसहित निजी क्षेत्रका २२ वटा औषधि उद्योगले सिटामोल र प्यारासिटामोल उत्पादन गर्ने अनुमती पाएका छन् ।

सिटामोलको एमजी बढाउन माग गर्दै गत साउन  १२ गते  ४ वटा औषधि उद्योगले विभागमा आवेदन दिएका थिए । 

तर, विभागले २०७८ असार ११ गते बसेकाे औषधि मूल्यांकन समितिकाे बैठकले त्यसलाई अस्वीकृत गरेको भन्दै तत्काल ६५० एमजीको सिटामोल आवश्यक नभएको बताएको थियो