बिर्तामोड / उद्योगीव्यवसायीको चौतर्फी दवाव झेलीरहेको सरकारमाथि औषधी उत्पादकले समेत मूल्यवृद्धि र समायोजनको माग राखेर आन्दोलन थालेका छन् । सिटामोलको मूल्यवृद्धिको विषय पेचिलो बनेको बेला अर्को दैनिक जीवनमा उपयोगी हुने औषधी जिवनजलको मूल्य बढाउन माग गर्दै व्यवसायीले आन्दोलन थालेका छन् ।

मूल्यवृद्धिको माग सहित जिवनजल उत्पादक उद्योगीले उत्पादन नै ठप्प पारेर आन्दोलन थालेका हुन् । जिवनजल उत्पादक उद्योगले उत्पादन लागत भन्दा आधामा बेच्नु परेको भन्दै उत्पादन नै बन्द गरेर सरकारमाथि दवाव बढाएका हुन् ।

OM Sai Pathibhara Hospital

केही उद्योगीले उत्पादन नै बन्द गरिसकेका छन् भने केहिले उत्पादन बन्दका लागि तयारी थालेका छन् । पछिल्लो समयमा उत्पादन लागत नै प्रति प्याकेट १७ रुपैयाँ पुगेको भन्दै उद्योगीले १७ रुपैयाँ लगानी गरेर १० रुपैयाँमा बेच्न नसक्ने भन्दै उत्पादन बन्द गरेका हुन् ।

नेपाल औषधी उत्पादक संघ (एपोन) का उपाध्यक्ष सन्तोष बरालले छिमेकी मुलुक भारतमा नै मूल्य प्रति प्याकेट ३२ रुपैयाँ भइसकेको भएपनि नेपालमा सरकारले १० रुपैयाँमा बेच्न भनेपछि आफूहरू उत्पादन बन्द गर्न बाध्य भएको बताएका छन् ।

सरकारले २०६४ सालमा तोकेको मूल्य समायोजन गर्न आनाकानी गर्दा उध्योगीले उध्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बरालले जानकारी गराएका छन् । उनले आफ्नो उध्योग सहित अन्य धेरै उध्योगले उत्पादन नै बन्द गरेको बताएका छन् ।

कोरोना र युद्धका कारण अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएकाले उत्पादन नै गर्न नसकिने अवस्था आएपछि उध्योग नै बन्द गर्नु परेको उनले जनाएका छन् । अहिले मुलुकमा झाडापखालाको महामारी सुरु भए जिवनजल नपाउने अवस्था बनिसकेकाले सरकारलाई बेलैमा यो विषयमा संवेदनशिल बन्न आग्रह समेत गरेका छन् ।

उध्योगीले १४ वर्ष अघि जिवनजलको मूल्य तय गर्दा अन्तराष्ट्रिय बजारमा डलरको भाउ ५५ देखि ५७ रुपैंया रहेको तर अहिले १२१ रुपैंया पुगिसकेकाले सो कुरालाई समेत बुझेर मूल्य समायोजन गरी व्यवसायीको हित गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपालमा जिवनजल उत्पादन गर्ने ६ वटा कम्पनी संचालनमा रहेका छन् । नेपालमा जिवनजल उत्पादन गर्ने एउटा विदेशी कम्पनी भने मूल्यवृद्धिलाई कारण देखाउँदै दुई वर्ष अघि नै नेपालबाट फर्किसकेको छ ।