झापा / कुकुरको टोकाइबाट धनकुटामा  ९० वर्षीया वृद्धा सहित  १२ जना भन्दा बढी मानिस बिरामी परेका छन् ।

उनीहरूलाई रेबिज लाग्नसक्ने आशङ्का चिकित्सकहरूले गरेका छन् । यति मात्र होइन कुकुरले पशुचौपायालाई पनि टोकेको स्थानीयले बताएका छन् ।

OM Sai Pathibhara Hospital

बजार तथा गाउँमा बौलाहा छाडा कुकुरले आतङ्क मच्चाउँदा गाउँमा सबै नागरिकहरू त्रसित भएका छन् । कुकुरले टोकेर घाइते हुनेमा धनकुटा नगरपालिका वडा नं ५, ६ र ७ का स्थानीयहरू रहेका छन् ।

घाइतेमध्ये धनकुटा नगरपालिकाको चुुलीवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घर भएका १२ जना धनकुटा अस्पतालको सम्पर्कमा आएको धनकुटा अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले जानकारी दिए ।

कुकुरको टोकाइबाट गम्भीर घाइते ६ वर्षीय बालक र ९० वर्षीया महिलालाई थप उपचारका लागि धरान पठाइएको उनले बताए । बाँकी १० जना घाइते धनकुटा अस्पतालमा उपचारपछि घर फर्केको पोख्रेलको भनाइ छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णराज पन्तले १२ जना व्यक्तिहरूलाई कुकुरले टोकेको जानकारी पाएको बताए । उनले कुकुर नियन्त्रण गर्न प्रशासनले प्रहरी परिचालन गरेको जानकारी दिए ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।